(१) यो ऐन वा यस ऐन अन्तरगतको सूचित आदेश बमोजिम नियन्त्रण वा मनाही गरिएको वस्तु वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निकासी वा पैठारी गर्न जारी गरिएको इजाजतपत्रमा तोकिएको वस्तु वा त्यसको मुल्य वा परिमाणमा मनासिब कारण बिना फरक पारी कसैले कुनै वस्तु निकासी वा पैठारी गरेमा त्यसरी निकासी वा पैठारी गरेको वस्तु जफत गरी निजलाई सो वस्तुको मुल्य बराबर जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) उपदफा (१) बमोजिम सजाय हुने कार्यमा सहयोग पुर्याउने ब्यक्तिलाई सोही उपदफामा उल्लेखित सजायको आधा सजाय हुनेछ ।
(३) उपदफा (१) र (२) मा लेखिएदेखि बाहेक इजाजतपत्र प्राप्त गर्नको लागि कसैले जानीजानी झुट्टा वा किर्ते प्रमाण वा विवरण पेश गरेमा वा जारी भएको इजाजतपत्रमा अनाधिकृत तवरले थपघट वा केरमेट गरेमा वा इजाजतपत्र जारी गर्ने कार्यालयको काम कारवाहीमा बाधा पुर्याएमा त्यस्तो ब्याक्तिलाई इजाजतपत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले दुई हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ ।
(४) उपदफा (१), (२) र (३) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु बर्खिलाप अन्य कुनै काम कुरा गर्नेलाई इजाजतपत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले एक हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ ।
(५) इजाजतपत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले यस दफा बमोजिम सजाय पाउने ब्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्मको लागि निकासी पैठारी गर्ने इजाजतपत्र जारी नगर्न वा जारी गरिएको इजाजतपत्र रद्द गर्न सक्नेछ ।